Odisha News Portal

फाती भन्छन्, ‘मेस्सीबाट सिक्दैछु’

0 4

एजेन्सी । बार्सिनोलाका युवा स्टार अंशु फातीले लियोनल मेस्सीबाट आफुले सिकिरहेको बताएका छन् ।आईतबार राति भिल्ला रियललाई ४–० ले पराजित गर्ने क्रममा फातीले बार्सिलोनाका लागि दुई गोल गरे ।फातीकै सुरुवाती दुई गोलमा बार्सिलोनाले नयाँ सिजन शानदार सुरुवात गर्यो ।

खेलअघि मेस्सीको असन्तुष्टि बाहिर आएको थियो । लुईस सुआरेजलाई क्लब बाहिर पठाउने प्रशिक्षक र बार्सिलोनाको निर्णयमा मेस्सी असन्तुष्ट थिए । बार्सिलोनाले निकाल्ने निर्णय गरेपछि सुआरेजले ला लिगा प्रतिद्धन्दी क्लब एट्लेटिको मड्रिड रोजेका छन् ।

तर बार्सिलोनाको पहिलो खेलमा फाती चम्किए । उनले सुरुवाती २० मिनेटभित्रै बार्सिलोनालाई दुई गोलको सुविधा उपलब्ध गराए ।फाती १७ बर्षका भए । मेस्सीले बार्सिलोनाबाट २००४ मा डेब्यु गर्दा फाती भन्दा २ बर्ष बढी थिए ।स्पेनिस युवा स्टार फातीले भने ६ पटकका विश्व बर्ष खेलाडीले आफ्नो स्तर सुधार्न सहयोग गरिरहेको बताए ।

‘मेस्सीसंग खेल्नु सपना हो । बाल्यकालमा देखेको । म त्यही सपनामा बाँचिरहेको छु ।’ फातीले खेलपछि सञ्चारकर्मीसंग भने ।‘उनले मलाई प्रशस्त सुझावहरु दिएका छन् । उनले मलाई मैदान र अभ्यासमा प्रसस्त सहयोग गरेका छन् । यसले मलाई निकै खुसी दिन्छ ।’ उनले भने ।

फातीले गत बर्षनै बार्सिलोनाको सिनियर टिममा डेब्यु गरे । र बार्सिलोनाबाट ला लिगामा गोल गर्ने सबैभन्दा युवा खेलाडीको कीर्तिमान बनाए । पहिलो सिजनमै राम्रो छाप छाडेका फातीले सुआरेजको बहिर्गमनसंगै बार्सिलोनाको पहिलो रोजाईमा मौका पाएका छन् ।

‘म सधै आफुलाई सुधार गर्न चाहन्छु । म सहकर्मीबाट सिक्न चाहन्छु । किनकी मेरा वरपर विश्वका सर्वोकृष्ट खेलाडी छन् । उनीहरु मलाई सधै सहयोग गर्न कोशिश गरिरहेका छन् ।’ फाती भन्छन् ।