Odisha News Portal

उबेलाका चार दसैं : अस्तित्वविहीन बने दुईवटा दसैं

0 11

कात्तिक, काठमाडौं । शारदीय नवरात्रलाई बडादसैं, विजयादशमी र काठमाडौं उपत्यकामा मोहनी भन्ने नामले चिन्ने गरिन्छ । धुमधामका साथ मनाउने शारदीय नवरात्रलाई बडा दसैं नै नाम किन राखियो होला ? यो दसैं ठूलो हो भने साना दसैंहरू कतिवटा होलान् ?

दसैंलाई चिनाउन काठमाडौंमा प्रयोग गरिने मोहनीको अर्थ प्रभाव पार्ने वा लठ्याउने काम हो । दसैंको नवरात्रमा विधिपूर्वक माटोको भाँडामा बत्ती बालेर कसैले पनि नदेख्ने गरी गोप्य तान्त्रिक विधिले पूजा गरेर त्यसको प्रसाद खाएपछि मान्छेलाई फलिफाप हुँदै जाने विश्वास गरिन्छ । त्यसैले पनि यसलाई मोहनी नाम राखिएको संस्कृतिविदहरु बताउँछन् । त्यही नौ दिनसम्म गोप्य राखेर गरिने पूजा नै मोहनी हो ।

चैत्र शुक्ल पक्षको १० दिन चैते दसैं भनेर मनाउने गरिन्छ । जुन शारदीय नवरात्रको तुलनामा अत्यन्त कम महत्वको पर्व हो । तर, यसरी नै कम महत्वपूर्ण हुँदाहुँदै अस्तित्वविहीन बनेका दुई वटा गुप्त नवरात्रका बारेमा भने धेरै बेखबर छन् । अहिलेसम्म पनि अत्यन्त नियममा रहने तान्त्रिकहरूले नियमित मनाउने गरे पनि सामान्य मान्छेमा यी दसैंहरु ‘एकादेशको कथा’ भइसकेका छन् ।

संस्कृतिविद् विनोदराज शर्माका अनुसार मध्यकालीन नेपालमा ४ किमिसको दसैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दसैंहरूमध्ये अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ग्रिष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र अहिले लोपोन्मुख अवस्थामा छ । तर यी सबै दसैंहरूको आ–आफ्नै विशेषताहरू छन् । जसमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् शर्मा बताउँछन् ।